मैवाखोला गाउँपालिका (वडा न. ०२) प्रदेश नं. १, नेपाल
समाजिक सञ्जालकाे लिंक:

मैवाखोला गाउँपालिका वडा नं २ को संक्षिप्त परिचयः
नेपालको पूर्वी जिल्ला ताप्लेजुङको पश्चिमी भेगमा पर्ने साविकको ढुङ्गेसाँघु, साँघु तथा फाकुम्बा गा.वि.स मिति २०७३/११/२७ मा एकीकृत भई हाल परिवर्तित मैवाखोला गाउँपालिकाको वडा नं २ साविकको ढुङ्गेसाँघु गा.वि.स वडा नं ६,७,८ र ९ को क्षेत्र समेटिएर बनेको छ । यस वडाको केन्द्रको रुपमा लेकुवा पर्दछ जहाँ वडा कार्यालय अवस्थित छ । मैवाखोला गाउँपालिका वडा नं २ को पूर्वपट्टीको सिमानासँग यस गाउँपालिकाको वडा नं १ तथा आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ, पश्चिम पट्टी यस गाउँपालिकाको वडा नं ३,४ र ५ को केही भू-भाग, उत्तरपट्टी वडा नं ५,६ र मेरिङदेन गाउँपालिका, ताप्लेजुङ तथा दक्षिणमा मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम र आठराइ त्रिवेणी गाउँपालिका ताप्लेजुङको केही भू-भाग पर्दछ । यस वडाको क्षेत्रफल १८.९८ वर्ग कि.मी रहेको छ । यस वडामा घरधुरी संख्या २८३ तथा जनसंख्या १४७५ रहेको जसमा पुरुषको संख्या ७४८ र महिलाको संख्या ७२७ रहेको छ । यस वडा नं २ मा जम्मा ७ वटा टोल विकास संस्थाहरु रहेका छन् जुन यस प्रकार छन् सिंवाली टोल विकास.संस्था. हात्तिखावा टोल विकास संस्था, झरना टोल बिकास संस्था, मुडे भुसुने टोल बिकास संस्था, लाली रमिते ठोट्ने टोल विकास संस्था, तेम्बे टोल विकास संस्था , तेम्बेडाँडा टोल विकास संस्था रहेका छन् । यस वडामा जम्मा ४ वटा सामुदायिक विद्यालयहरु रहेका छन् जसमध्ये माध्यमिक तहको विद्यालय-१, आधारभूत तहका विद्यालय-२ र १ वटा बाल विकास केन्द्र रहेको छ ।  यस वडामा निमार्णधीन रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन जुन मैवाखोला गाउँपालिकाको गौरवको आयोजनाको रुपमा अगाडि बढिरहेको छ । यस संस्थामा एक मेडिकल अफिसर सहित १० जना  दरबन्दीको कर्मचारी कार्यरत छन् ।त्यस बाहेक वडामा सामुदायिक भवन-१, सामुदायिक स्वास्थ्य संस्था-१, खोपकेन्द्र - २ र गाउँघर क्लिनिक- १, क्लबहरु -२ (लालिमा क्लब र सिर्जनशील स्पोर्टिङ ),तथा प्रत्येक टोल अन्तर्गत आमा समुह र महिला समुहहरु क्रियाशील छन । यस वडामा सबै जसो कच्ची सडक भएतापनि सडकहरु सधैँ जसो सञ्चालनमा रहने तथा यस वडा नं २ गाउँपालिकाको कार्यालय, फाकुम्बा र जिल्ला सदरमुकाम जाने केन्द्रबिन्दुको रुपमा रहेको छ।
यस वडामा विषेशतः लिम्बु, राई, तामाङ, शेर्पा, बाह्रमण, क्षेत्री र दलित जातजातिहरुको बसोबास गर्दछन्। प्रत्येक जात जातिहरूको  आ-आफ्नै मौलिक भाषा, संस्कृति, भेषभुषा तथा परम्पराहरु छ्न्। धान नाँच, पालम नाँच, च्याब्रुङ नाँच, साकेला नाँच, डम्फुको नाँच आदि यस वडाको प्रख्यात नाँचहरु हुन् । अनेक जातजातिहरु बसोबास गरे पनि एक आपसमा सामाजिक एकता र भातृत्व कायम रहेको छ ।यस वडा भित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक स्थलहरु मध्ये तेम्बेमा अवस्थित फागोहरुको माङगेन्ना यक (लिम्बु जातिहरुको पूजा स्थल), मुडे भुसुनेमा रहेको निर्माणधीन गुम्बा, पातले छाँगा, स्व. मदन भण्डारीको जन्मघर, पञ्चमी मन्दिर, ऐतिहासिक घर, माङ्माया खोला, से:लुवा खोला आदि रहेका छ्न् । यस वडामा रहेको लालीपातल माङमाया सामुदायिक वन जुन अल्लोको लागि प्रख्यात रहेको छ । उक्त अल्लोबाट यहाका मानिसहरुले विभिन्न डिजाईनका कपडा तयार गरी आर्थिक उपार्जन गर्ने गरेको पाईन्छ अधिकांस कृषिमा निर्भर यो वडामा धान,मकै,कोदो, गहुँ, आलु लगायत खेती गर्ने गरेका छ्न् । यी बाहेक कालो सुनले प्रख्यात मानिएको अलैँची खेती समेत गरिन्छ । अलैँची खेतीको प्रवर्द्धन साथै रासायनिक मलको प्रयोगलाईन्यूनीकरण गर्नका लागि गाउँपालिकाले जैविक मल उद्योग स्थापना गरी जैविक मल उत्पादन गर्न यसै वडामा जग्गा प्राप्त गरी निर्माण कार्य अघि बढिरहेको छ ।कर्म गर्नमा रुचि राख्ने यस वडाका कर्मशील मानिसहरु आर्थिक आयआर्जनका निम्ति नगदेवालीहरु जस्तै सुन्तला, अलैंची,किवी, कफी, कागती लगाउने, पशुपालन गर्दछन् । समयसमयमा लाग्ने मेलामहोत्सवमा आ-आफ्नै मौलिक संस्कृति भेषभुषामा सुसज्जित रही परम्परादेखि चली आएको आफ्ना सास्कृतिक पहिचानहरुलाई यहाँका नागरिकहरूले जोगाइरहेका छन्।